रुपन्देही । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परी सहचालक बुटवल उपमहानगरपालिका-३ निवासी ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलियाकी ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया