चितवनमा दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटान सुरु, निर्माण ८१ प्रतिशत सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन जिल्लातर्फ रुख कटानको काम सुरु भएको छ ।

राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानका लागि आवश्यक अनुमति प्राप्त भएपछि कटान कार्य अघि बढाइएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको स्वीकृति प्राप्त गरेको थियो ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार डिभिजन वन कार्यालय चितवनसँग भएको सम्झौताअनुसार रुख कटान, काठ संकलन तथा सुरक्षित भण्डारणको काम भइरहेको छ । सामुदायिक वन उपभोक्ता समूहलाई अभिमुखीकरण दिएपछि उनीहरूले रुख कटान र काठ संकलन सुरु गरेका हुन् ।

उनका अनुसार स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्दै काम भइरहेको छ । कटान गरिएका काठको सुरक्षित व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूहलाई तारबार र सिसिटिभी जडान गर्न आर्थिक सहयोगसमेत गरिएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन तथा भरतपुर–२९ का अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिनेछ । यस्तै, प्रसारण लाइन मार्गअन्तर्गत तनहुँमा रुखमा छाप चिन्ह लगाउने काम जारी रहेको आयोजनाले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँका कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न ९ हजार १२७ वटा रुख हटाउने स्वीकृति दिइएको थियो ।

प्रसारण लाइनको प्याकेज–३ अन्तर्गत भारतको केइसी इन्टरनेशनल लिमिटेडले निर्माण कार्य गरिरहेको छ। ३५ किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग हाल्ने र ७२ वटा टावर जडान गर्ने काम सम्पन्न भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल ८१ प्रतिशत पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?