मोदीखोलामा बाढी : घान्द्रुक जाने सडक बन्द

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीका कारण घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक बन्द भएको छ ।

आइतबार बिहानदेखि किम्रुङ क्षेत्रमा लगातार भारी वर्षा भएपछि विभिन्न ठाउँमा पहिरो गएको र खोलामा पानीको बहाव बढेको हो । बाढीले सेउलीबजार नजिक सडक बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

बाढीले स्थानीय दिपिल गुरुङको घर र रेस्टुरेन्ट बगाएको छ भने अर्को रेस्टुरेन्टमा पनि क्षति पुगेको छ । हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

सडक बन्द भएपछि घान्द्रुक, लान्द्रुकलगायत ठाउँ जाने सयौँ सवारीसाधन र पर्यटक प्रभावित भएका छन् । केही यात्रु भने पैदल हिँडेर गन्तव्यतर्फ गइरहेका छन् । तत्काल सडक खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

मोदीखोलामा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी किनारमा बस्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

उता, खोलामा पानीको बहाव धेरै बढेपछि मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन् । यसका कारण करिब ७४ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

जोखिम न्यूनीकरणका लागि नदी आसपासका क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?