बागलुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत ढोरपाटन नगरपालिका–९ फल्लेघरमा शनिबार बिहान सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन भ्रमणका लागि आएका पर्यटक तथा यात्रु अलपत्र परेका छन् । शुक्रबार साँझ ढोरपाटन पुगेका पर्यटक फर्किन नसकेको तथा बिदाको अवसरमा ढोरपाटनतर्फ जाँदै गरेका पर्यटक फल्लेघर क्षेत्रमा रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार पहिरो हटाउन मेसिन प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ। उनले बिहानदेखि सडक अवरुद्ध रहेको र समाचार तयार पार्दासम्म सञ्चालनमा आउन नसकेको जानकारी दिए ।
‘सडक नखुल्दा ढोरपाटन जाने र फर्किने यात्रु समस्यामा परेका छन् । सडक खुलाउन मेसिन परिचालन गरिएको छ,‘उनले भने।
प्रहरीले वर्षायाममा ढोरपाटन भ्रमणमा निस्कनुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पर्यटकलाई आग्रह गरेको छ । वर्षायाममा ढोरपाटन क्षेत्रमा पर्यटकको उल्लेख्य चाप रहने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया