काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताएका हुन् । उनले सडक निर्माणको क्रममा फुटपाथलाई प्राथमिकता नदिइएको तथा फुटपाथ भएपनि सबै प्रकारका क्षमाता भएका नागरिकलाई सहज रुपमा हिँड्न मिल्ने गरी नबनाइएको बताए ।
सभापति थापाले सडक दुर्घटनालाई घटना भएपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना किन हुन्छ ? भन्ने दृष्टिकोणबाट अध्ययन हुनुपर्ने बताए ।
उनले भने, ‘हामीले सडक विस्तार गर्दा फुटपाथ बनाएनौँ । फुटपाथ बनाइहाल्यौँ भने पनि सानो बनायौँ । सानो बनायौँ भने पनि ज्येष्ठ नागरिक हिँड्न मिल्ने गरी बनाएनौँ, बुढाबुढी हिँड्ने गरी, केटाकेटी हिँड्ने गरी बनाएनौँ । फरक क्षमता भएका नागरिकलाई त हामीले कहिल्यै पनि हेरेनौँ । फुटपाथको प्रोजेक्ट २०७० सालबाट सुरु भएको हो । एसियाली विकास बैंकको सहयोग लिएर हामीले काठमाडौंमा फुटपाथ विस्तार गर्ने परियोजना गरेका हौँ । फुटपाथको महत्व हामीले बुझ्न सकेनौँ । यसलाई हामी दुर्घटनाको भएपछिको कोणबाट भन्दा कसरी दुर्घटना भयो भन्ने कुराबाट हेर्नुपर्छ । हामीले रोड ट्राफिक एक्सिडेन्टमा कसरी कम गर्छौँ ? यसलाई सेफ्टी कसरी बनाउँछौँ ? भन्ने तिर नगइकन हामी अर्को विषयवस्तुमा मात्र प्रवेश गर्यौँ भने यो कुराको हल निस्कन सक्दैन । सडक समस्याको समाधानका लागि हामीलाई एउटा नेसनल लेभलको अथोरिटी चाहिन्छ । त्यो अथोरिटीले सबै एक ठाउँमा आएर सोच्नुपर्छ । त्यसले दुर्घटना भयो भन्ने मात्र होइन उसले कसरी भयो र यसको समाधान के हुनसक्छ भन्ने कोणबाट हेर्नुपर्छ । काठमाडौँमा जो राइडर हुनुहुन्छ, अरु विभिन्न कम्पनीहरू छ । त्यो राइडरहरूको अहिले कति जीविकोपार्जन त्यहाँबाट गरिराख्नु भएको छ । तर कम ह्यारेस हुन्छ उहाँहरूलाई रु काठमाडौंमा कहाँ कहाँ गएर पार्किङ गर्ने रु हामीले भेहिकल चाहीँ जति पनि ल्याउन दिएका छौँ, हामीले पार्किङको कहीँ ठाउँ बनाएका छौँ रु त्यसकारण हामीले यो सबै कुराको समाधानका लागि नेशनल लेभलको अथोरिटी चाहिन्छ । अब यसमा काम गर्नुपर्नेछ ।’
सभापति थापाले सडक व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, पार्किङ तथा दुर्घटना न्युनिकरणका विषयमा सम्बन्धित सबै निकायलाई समन्वय गरेर काम गर्ने राष्ट्रियस्तरको अधिकारसम्पन्न संयन्त्र आवश्यक बनाउनेतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया