चार्टर उडानदेखि स्पोट्र्स टुरिजमसम्म : नाट्टा सचिवमा रमेश पराजुलीको उम्मेदवारी घोषणा

नेपाल–भियतनाम हवाई सम्पर्कका सूत्रधार र महिला भलिबलका संरक्षक अब नाट्टाको नेतृत्वतर्फ

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी अगस्ट १४ मा हुने निर्वाचनमा पर्यटन व्यवसायी रमेश पराजुलीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशकसमेत रहेका पराजुलीले भरत जंग पाण्डे नेतृत्वको टिमबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । संस्थालाई आम व्यवसायीको साझा संस्था बनाउने भन्दै पराजुलीले पाण्डे टिमबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

करिब दुई दशक पर्यटन क्षेत्रको अनुभव, अन्तर्राष्ट्रिय नेटवर्क र नवीन सोचका धनी पराजुली नेपालको ट्राभल उद्योगमा परिणाममुखी कार्यशैलीका लागि परिचित समेत रहेका छन् ।

पराजुलीको नेतृत्वमा रहेको रुप्से होलिडेजले नेपाल-भियतनामबिच नियमित चार्टर उडान सञ्चालन गर्दै नयाँ गन्तव्य विकास र पर्यटन प्रवर्द्धनमा कोशेढुंगा साबित गरिसकेको छ । त्यस्तै, पर्यटन र खेलकुदको अन्तरसम्बन्धलाई व्यावसायिक रूप दिने ‘स्पोट्र्स टुरिजम’ अवधारणाका प्रवर्द्धकसमेत रहेका पराजुलीले ललितपुर क्विन्स महिला भलिबल टोलीमार्फत नेपाली महिला खेलकुदलाई व्यवसायीकरण र अन्तर्राष्ट्रिय पहिचान दिलाउन समेत महत्त्वपूर्ण भूमिका खेलेका छन् । पराजुलीले रुप्से स्पोट्र्स म्यानेजमेन्टमार्फत नेपाली क्रिकेट, महिला भलिबल र समग्र खेलकुद उद्योगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

हालसम्म १४० भन्दा बढी देशको भ्रमण गरिसकेका पराजुली अन्तर्राष्ट्रिय पर्यटन बजार, एयरलाइन्स कम्पनीसँगको सहकार्य, गन्तव्य विकास र प्रवर्द्धनका क्षेत्रमा विशिष्ट अनुभव हासिल गरेका व्यक्ति हुन् । उनको यही अनुभवकै आधारमा रुप्से होलिडेजले नेपालको अग्रणी ट्राभल कम्पनीका रूपमा आफूलाई स्थापित समेत गराएको छ ।

नाट्टालाई पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता

सचिव पदमा उम्मेदवारी घोषणापछि पराजुलीले नाट्टालाई प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् ।

पराजुलीले भने, ‘सचिव पद संस्थाको दैनिक सञ्चालन, सदस्य समन्वय र निर्णय कार्यान्वयनको मेरुदण्ड हो, त्यसैले आगामी कार्यकालमा सदस्य सहायता प्रणालीलाई डिजिटल र परिणाममुखी बनाउन समेत मेरो उम्मेदवारी आएको हो ।’

प्रदेश तथा जिल्ला तहका सदस्यहरूसँग नियमित सम्पर्क, व्यावसायिक सूचना आदानप्रदान र दैनिक समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

युवा उद्यमीहरूको सहभागिता वृद्धि, क्षमता अभिवृद्धि तालिम र व्यवसाय विस्तारका अवसर सिर्जनालाई पनि प्राथमिकता दिइने पराजुलीले बताए ।

पराजुलीले भने, ‘पर्यटन केवल व्यवसाय मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रको चालक शक्ति हो । नाट्टालाई सबै सदस्यको साझा व्यावसायिक मञ्चका रूपमा सशक्त, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता हो ।’

आगामी निर्वाचनलाई संस्थाको भविष्य निर्माणको अवसरका रूपमा लिँदै पराजुलीले भरत जंग पाण्डे नेतृत्वको योग्य, अनुभवी र व्यावसायिक टिमलाई विजयी गराई नाट्टालाई नयाँ उचाइमा पुर्‍याउन सम्पूर्ण सदस्यहरूलाई आग्रह समेत गरेका छन् । साथै, संस्थाको विकास, सदस्य हित र पर्यटन उद्योगको समग्र उन्नयनका लागि सबैको सुझाव, सल्लाह र रचनात्मक सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन् ।

पराजुलीले भने, ‘मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, सम्पूर्ण पर्यटन व्यवसायीको साझा आवाजलाई थप बलियो बनाउनका लागि हो । बलियो नाट्टा, बलियो पर्यटन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न म पूर्ण प्रतिबद्ध छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?