मनसुनी प्रभाव कायम : आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

लोकपथ
84
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली भएको छ ।

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ । हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । तराईका धेरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

साथै मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लगातार वर्षासँगै पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?