काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङमाथि ट्राफिक नियम उल्लंघन गरेको आरोप लगाउँदै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले सिटबेल्ट नलगाई सवारी चलाएको भिडियो सार्वजनिक हुँदा पनि उनीहरूमाथि कुनै कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले ट्राफिक नियम उल्लंघनको विषयमा सञ्चारमाध्यमहरूले समेत समाचार नबनाएको भन्दै आलोचना गरे । सम्पत्ति शुद्धीकरणको डरका कारण सञ्चारमाध्यमहरू पनि यस्तो विषय उठाउन हिच्किचाइरहेको उनको आरोप थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघनका कारण कारबाहीमा परेको उदाहरण दिँदै शाहीले प्रधानमन्त्री र गृहमन्त्रीलाई भने उन्मुक्ति दिनु विभेदपूर्ण भएको बताए ।
उनले सरकारलाई आफ्ना र परायाबीच विभेद नगर्न आग्रह गर्दै कानून सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखे । ‘मुख्यमन्त्री कारबाहीमा पर्न सक्छन् भने गृहमन्त्री किन नपर्ने ? प्रधानमन्त्री स्वयं सिटबेल्ट नलगाई गाडी चलाएको भिडियो सार्वजनिक छ। यदि उनीहरूलाई कारबाही हुँदैन भने अघिल्लो र अहिलेको सरकारबीच कुनै फरक रहँदैन,‘उनले भने ।
नेता शाहीले कर्णाली प्रदेशका सडकको अवस्था सुधार गर्न सरकारले पर्याप्त चासो नदिएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया