रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्र बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन् । उनी औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए । घटनामा टाउकोमा चोट लागेका रामबहादुर साहको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार चक्कु प्रहारबाट पिठ्युँमा गम्भीर घाइते भएका वुटन साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारकै क्रममा मंगलबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवादले उग्र रूप लिँदा उक्त घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया