काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक समितिमा पठाउने प्रस्ताव पेसगरे ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।
चारै प्रस्तावमाथि कुनै विरोध नआएपछि राष्ट्रिय सभा अध्यक्षले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेकी थिइन् । यससँगै चारै विधेयक अब विधायन व्यवस्थापन समितिमा दफावार छलफलपछि थप संसदीय प्रक्रियामा अघि बढ्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया