किर्ते हस्ताक्षर र नक्कली कागजातबाट करोडौँ कर्जा, सिद्धार्थ बैंकमाथि छानबिनको माग

लोकपथ
105
Shares

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम लुम्बिनी शाखाले किर्ते कागजातको प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले बैंकको शाखादेखि प्रधान कार्यालयसम्मका जिम्मेवार अधिकारीहरूको भूमिकामाथि अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।

पीडितमध्येका दिलिप ओलीले आफूले पुष्पाञ्जली एण्ड प्राइभेट लिमिटेड मार्फत ५० लाख रुपैयाँ बराबरको लेटर अफ क्रेडिट (एलसी) सुविधा मात्रै माग गरेको भए पनि बैंकले त्यसलाई आफूलाई जानकारी नदिई ७ करोड ५० लाख रुपैयाँको सर्ट टर्म लोनमा रूपान्तरण गरी स्वीकृत गरेको दाबी गरे ।

उनका अनुसार कालोसूचीमा रहेको कम्पनीका नाममा १७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको थियो। उक्त कर्जामध्ये एउटा कर्जामा धितो र सञ्चालकसमेत नभएको, किर्ते हस्ताक्षर तथा नक्कली कागजात प्रयोग गरी ३ करोड ५० लाख रुपैयाँ गैरनागरिकलाई प्रवाह गरिएको आरोप पनि उनले लगाए ।

ओलीले राष्ट्र बैंकको कारबाहीबाट जोगिन बैंकले पूर्वयोजनाअनुसार आफूलाई प्रयोग गरेर घोटाला ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाए । उनले आफूजस्तै अन्य १० जना पनि यस्तै प्रकृतिको कथित किर्ते कर्जा प्रकरणका पीडित रहेको दाबी गर्दै यस्तो कार्य कुनै एक शाखाबाट मात्रै सम्भव नहुने बताए ।

उनले बैंकले नयाँ ग्राहक भएको भन्दै खाता निष्क्रिय हुन सक्ने बहाना बनाएर आफूहरूबाट खाली चेक लिएको, तीमध्ये केही चेक आफैं जारी गरी किर्ते हस्ताक्षर र नक्कली औँठाछाप प्रयोग गरेर रकम निकासा गरिएको आरोप लगाए। साथै आफूहरूले नचिनेका व्यक्ति तथा कम्पनीहरूको खातामा रकम पठाई पछि पुनः कालोसूचीमा रहेको कम्पनीमा रकम फिर्ता लगेर दुरुपयोग गरिएको उनको दाबी छ ।

ओलीले सिद्धार्थ बैंकको प्रधान कार्यालय, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च तहका अधिकारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार तथा सम्बन्धित निकायसँग माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?