काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले अब ७ हजार मिटरभन्दा माथिको कुनै हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा चढ्न अनुमति नदिने प्रावधानसहित नयाँ पर्यटन ऐन, नियमावली र कार्यविधि तयार भइरहेको जानकारी दिएका हुन् ।
उनले सगरमाथामा अत्यधिक भीडका कारण यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती थपिएको स्वीकार गर्दै नयाँ व्यवस्थामार्फत अनुभवी आरोहीलाई मात्र अनुमति दिने नीति लिइने बताए ।
मन्त्री पौडेलले भने, ‘सगरमाथामा चढ्नेहरूको भीड नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा पर्न सक्छ। त्यसैले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधिमा ७ हजार मिटरभन्दा माथिको हिमाल नचढीकन सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था गर्न लागेका छौँ ।’
उनले हिमाल आरोहण रोयल्टी वृद्धि अर्थ मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने विषय भए पनि सगरमाथामाथिको चाप घटाउन अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक कदम चालिने बताए ।
पर्यटन क्षेत्रलाई दिगो र सन्तुलित बनाउन एकै प्रकारको पर्यटन प्रवर्द्धन पर्याप्त नहुने उल्लेख गर्दै उनले पर्यटनका विविध क्षेत्रको समानान्तर विकासमा मन्त्रालय केन्द्रित रहेको बताए ।
मन्त्री पौडेलले नेपाल वायुसेवा निगमका ट्वीनअटर विमानको संरक्षण र विस्तारका लागि आवश्यक निर्देशन दिइने जानकारी पनि दिए ।
साथै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय हवाई रुट प्राप्त गर्न कूटनीतिक पहल भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया