अब रगतको होइन, पसिनाको क्रान्ति आवश्यक छ : हर्क साम्पाङ

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचना संघीयता, समावेशिता र धर्मनिरपेक्षतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहेका बेला यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुक गम्भीर संकटतर्फ जान सक्ने बताएका हुन् ।

उनले अब मुलुकलाई रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै रोजगारीको अभावका कारण हजारौँ युवा विदेशिन बाध्य भएको बताए। स्वदेशमै रोजगारी र भविष्यको सुनिश्चितता हुने वातावरण निर्माण गर्न सरकारसँग उनले आग्रह गरे ।

राईले दार्चुलाको टिङ्कर सडकको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय गौरवका आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्न र टिङ्कर सडक निर्माणलाई तीव्रता दिन माग गरे ।

सहकारी पीडितको विषय उठाउँदै उनले ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गरेर मात्रै बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने धारणा राखे । राज्यकोषबाट सहकारीको दायित्व व्यहोर्नु उचित नहुने बताउँदै दोषीमाथि भएको कारबाही र असुलउपर गरिएको रकमको विवरण सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।

त्यस्तै, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई पुनर्वासको व्यवस्था नगरी हटाउन नहुने र लालपुर्जा वितरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह राख्न नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?