सिक्टा सिँचाइको प्रगति सुस्त, मन्त्री श्रेष्ठद्वारा समयमै सम्पन्न गर्न निर्देशन

लोकपथ
14
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले बाँकेको कृषि उत्पादन र खाद्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुन नहुने बताए । उनले आवश्यक बजेटको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरे ।

उनका अनुसार आयोजनाले बाँकेको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने योजना छ ।

मन्त्री श्रेष्ठले आयोजना सम्पन्न भएपछि बाँकेमा कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयआर्जनमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । निरीक्षणका क्रममा उनले कर्मचारी तथा स्थानीय किसानसँग छलफल गर्दै रोपाइँको अवस्था, समस्या र सुझावसमेत सुने ।

उनले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनमा देखिएका कानुनी तथा प्रशासनिक जटिलता समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुवर्षीय ठेक्का र सहमति प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने बताए ।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत सिक्टा सिँचाइ आयोजनाको कुल अनुमानित लागत ५२ अर्ब ८९ करोड रहेको छ। आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने योजना अनुसार हाल दोस्रो चरणको काम भइरहेको छ भने आर्थिक वर्ष २०८९र९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका अनुसार हालसम्म ५.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ । यस अवधिसम्म रु २४ अर्ब ८ करोड खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?