काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ र उनकी साथी लीला लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा कल्पनाले आफ्नो साथीको बैंक खातामा रकम ट्रान्सफर गरेर अपचलन गरेको उल्लेख छ । त्यसपछि केही समय रकम फिर्ताका लागि समय दिइए पनि रकम फिर्ता नभएपछि सशस्त्र प्रहरीकै पत्रका आधारमा इन्स्पेक्टर गुरुङ र रकम चलाउने लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सशस्त्रकै पत्रका आधारमा शनिवार विद्यालयमा लेखापाल रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यस घटनामा आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान हुनेछ ।
इन्स्पेक्टर गुरुङले विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा नपठाई पटक-पटक व्यक्तिगत खातामा ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी साढे ६ वर्षदेखि सो स्कुलको लेखा अधिकृतको जिम्मेवारीमा थिइन् । छानबिनका क्रममा उनले करिब ४ वर्षदेखि स्कुलको ११ करोड रुपैयाँ विभिन्न मितिहरूमा साथीको बैंक खातामा पठाएको खुलेको थियो । उक्त रकम मिटर ब्याजमा लगाएको हो कि साथीलाई व्यापारका लागि दिएको हो, अझै स्पष्ट भइसकेको छैन ।
एपीएफ स्कुलको रकम अपचलन गर्ने लामा इन्स्पेक्टर गुरुङका निकटस्थ साथी हुन् । लामाको लाजिम्पाटमा रेस्टुरेन्ट तथा ट्राभल एजेन्सी सञ्चालनमा छ । केही समयपछि फिर्ता गर्ने आश्वासनमा रकम दिइएको तर व्यवसायमा घाटा लागेपछि रकम फिर्ता गर्न नसकेको उनीहरूको प्रारम्भिक बयानमा उल्लेख छ । दुवै जनाले रकम अपचलन गरेको स्वीकार गरेका छन् । लामा यसअघि डकैती र लागु औषध मुद्दामा समेत पक्राउ परिसकेका व्यक्ति हुन् ।
यस प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा तानिएका छन् । सुवेदी हाल डिआइजी, केसी एसएसपी र पाण्डे एसपी पदमा कार्यरत छन् । तर उनीहरूको प्रत्यक्ष संलग्नता भने अहिलेसम्म कहीँ कतै देखिएको छैन ।
सशस्त्र प्रहरी कल्याण शाखामा कार्यरत कर्मचारीको भूमिकामाथि पनि प्रश्न उठेको छ । कल्याण शाखामा कार्यरत लेखा अधिकृत (डीएसपी) महेन्द्र हमाल पनि यस प्रकरणको अनुसन्धानको दायरामा आएका छन् । उनीमाथि विद्यालयको अनियमितताबारे जानकारी हुँदाहुँदै पनि संगठनलाई जानकारी नदिई अपचलनमा सहयोग गरेको आरोप छ । वर्षौँसम्म विद्यालयको आम्दानी खोजबिन नहुनु र लेखा परीक्षणमा सो विषय लुकाइनुले कल्याण शाखाकै समेत मिलेमतोको आशंका गरिएको छ ।
२०८२ साल मंसिरमा विद्यालयको राशनमा भ्रष्टाचार भएको भन्दै तत्कालीन गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेको थियो । त्यस बेला पनि राशनको गुणस्तर घटाएर कल्याण कोषबाट छुट्टाइएको रकमको दुरुपयोग भइरहेको उजुरीमा उल्लेख थियो । यद्यपि त्यो अनुसन्धानले खासै गति भने लिएको थिएन ।
यो प्रकरणमा सशस्त्रका अन्य उच्च अधिकारी पनि तानिने सम्भावना रहेको स्रोतले जनाएको छ । इन्स्पेक्टर गुरुङ एक्लैबाट यति ठुलो रकमको अपचलन सम्भव नहुन पनि सक्ने भन्दै यसमा माथिल्लो तहकै केही अधिकृतको समेत मिलेमतोको आशंका गरिएको छ । हाल पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि थप कारबाही अघि बढाइएको छ ।
एपीएफ स्कुलको रकम हिनामिनाका सम्बन्धमा सबैभन्दा पहिले लोकपथ डटकमले नै समाचार प्रकाशन गरेको थियो । त्यसपछि यो विषयमा विस्तृत छानबिन सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया