काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
उनले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा लिन नहुने धारणा राखे । लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धाका लागि भए पनि त्यसपछि सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए ।
सभापति थापाले आफूलाई केन्द्रीय समितिमा सहयोग गर्न सक्ने धेरै क्षमतावान नेताहरू अहिलेको संरचनामा अट्न नसकेको स्वीकार गरे । उनीहरूलाई संगठनको काममा सक्रिय रूपमा सहभागी गराउने कार्ययोजना रहेको उनले बताए ।
‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ । कोही प्रतिस्पर्धामा सहभागी हुनुभएन भने कोही प्रतिस्पर्धाबाट निर्वाचित हुन सक्नुभएन,’ उनले भने ।
आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने अवस्था नहुने उल्लेख गर्दै थापाले पार्टीको हितका लागि सबै योग्य र सक्षम नेताहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु । यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौँ,’ उनले भने ।
सभापति थापाले पार्टीभित्रको एकता अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले गुटगत प्रभावभन्दा माथि उठेर सामूहिक रूपमा काम गर्ने संकेत गर्दै संगठनलाई थप प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया