संघर्ष र बलिदानको इतिहास बोकेको एमाले अझै अघि बढ्छ : केपी शर्मा ओली

लोकपथ
7
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले विभिन्न चुनौती, अवरोध र कुप्रचार सामना गर्दै पनि आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अघि बढिरहने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेपाली समाजको जागरण र रूपान्तरणमा असाधारण भूमिका निर्वाह गरेको दाबी गरे । उनले जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउँदै मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको बताए ।

उनले पार्टीले स्थापना कालदेखि नै विभिन्न प्रकारका प्रहार, आक्रमण र कुप्रचार सामना गर्दै आएको स्मरण गर्दै ती सबै चुनौती पार गर्दै एमाले अझ सशक्त रूपमा अघि बढिरहेको बताए ।

राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै अध्यक्ष ओलीले परिवर्तनको अभियान कहिल्यै पनि सधैं सहज र सोझो बाटोबाट अघि नबढ्ने उल्लेख गरे । नदीले विभिन्न घुम्ती, मोड र अवरोध पार गर्दै अन्ततः आफ्नो गन्तव्यमा पुग्ने गरेजस्तै राजनीतिक आन्दोलनले पनि अनेकौं उतारचढाव र चुनौती पार गर्नुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो पार्टी गौरवपूर्ण संघर्ष र बलिदानको इतिहास बोकेको पार्टी हो । नेपाली समाजको जागरण र परिवर्तनमा यसले अद्वितीय भूमिका खेलेको छ । विभिन्न समयमा अनेकौं प्रहार, आक्रमण र कुप्रचार सहनुपरे पनि ती सबै चुनौतीलाई सामना गर्दै पार्टी आफ्ना महान् उद्देश्यतर्फ निरन्तर अघि बढिरहेको छ र भविष्यमा पनि अघि बढिरहनेछ, ‘उनले भने ।

अध्यक्ष ओलीले आन्दोलनको क्रममा असफलता र धक्का स्वाभाविक हुने उल्लेख गर्दै पार्टीले पनि समय–समयमा ठूला धक्का व्यहोरेको बताए । अहिले पनि पार्टीले गम्भीर चुनौती सामना गरिरहेको स्वीकार गर्दै उनले त्यसबाट विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले आन्दोलनको सफलताका लागि कठिनाइ, अवरोध र चुनौतीलाई पार गर्दै निरन्तर अघि बढ्नुपर्ने भन्दै पार्टी जागरण अभियानले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?