रास्वपाभन्दा बढी जनसमर्थन २०७४ मै एमालेले पाएको थियो : शंकर पोखरेल

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थन आफ्नो पार्टीका लागि नयाँ विषय नभएको बताएका छन् । उनले २०७४ सालको निर्वाचनमै एमालेले रास्वपाभन्दा बढी लोकप्रिय समर्थन हासिल गरेको दाबी गरेका हुन् ।

बागमती प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले २०७४ को निर्वाचनमा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले फरक–फरक चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दा करिब १० लाख मत बदर भएको उल्लेख गरे ।

उनले त्यसबेला दुई दलको संयुक्त जनसमर्थन अहिले रास्वपाले प्राप्त गरेको समर्थनभन्दा धेरै रहेको दाबी गर्दै भने, ‘हाम्रो जस्तो पार्टीका लागि यो कुनै नौलो कुरा होइन । योभन्दा लोकप्रिय समर्थन हामीले २०७४ मै प्राप्त गरेका थियौँ । दुई वटा चुनाव चिन्हका कारण झन्डै १० लाख मत बदर भएकाले परिणाममा केही असर परेको थियो । तर जनताको समर्थनका हिसाबले अहिले रास्वपाले प्राप्त गरेको भन्दा बढी समर्थन हामीले पाएका थियौँ ।’

महासचिव पोखरेलले कुनै पनि राजनीतिक दलका पक्षमा जनमत सधैँ स्थिर नरहने उल्लेख गर्दै जनविश्वास कायम राख्न निरन्तर जनतामाझ सक्रिय रहनुपर्ने बताए ।

उनले पार्टीका नेता–कार्यकर्तालाई जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन र संगठनलाई आधार तहसम्म प्रभावकारी बनाउन आग्रह गर्दै
‘मिसन पार्टी जागरण अभियान त्यसै उद्देश्यका साथ सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?