नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चीनका चार बुँदे प्रस्ताव

लोकपथ
672
Shares

काठमाडौं । नेपालका लागि चीनका राजदूत झ्याङ माओमिङले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै राजदूत माओमिङले दुई देशबीच राजनीतिक, आर्थिक, पूर्वाधार तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले पहिलो प्रस्तावका रूपमा नेपाल र चीनका राजनीतिक दलहरूबीच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यास आदान–प्रदान गर्नुपर्ने बताए। दोस्रो प्रस्तावमा नेपालको विकास रणनीतिसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई प्रभावकारी रूपमा जोड्दै ‘ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ निर्माणलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।

तेस्रो प्रस्तावअन्तर्गत उनले संयुक्त राष्ट्र संघ र साङ्घाई सहयोग संगठन जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा समन्वय बढाउँदै राष्ट्रपति सी जिनपिङ द्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट, ग्लोबल सेक्युरिटी, ग्लोबल सिभिलाइजेसन र ग्लोबल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने धारणा राखे ।

चौथो प्रस्तावका रूपमा उनले युवा पुस्ताबीच भ्रमण, शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानका कार्यक्रम सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा राजदूत माओमिङले चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो सत्तारुढ दल भएको उल्लेख गर्दै पार्टीमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठन रहेको जानकारी दिए ।

उनले सीपीसीका प्रमुख विशेषतामा सत्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारीबोध, विकासअनुकूल परिवर्तनको क्षमता, सङ्घर्षशीलता र आत्म–सुदृढीकरणप्रतिको प्रतिबद्धता रहेको बताए ।

राजदूतले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी सी जिनपिङ विचारधारा’ अन्तर्गत पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी शासन, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण तथा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताए ।

उनका अनुसार सन् २०२२ मा भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरिएको थियो भने करिब ९ लाख ८३ हजार व्यक्तिमाथि अनुशासनात्मक कारबाही गरिएको थियो ।

विश्वमा देखिएका सुरक्षा चुनौतीहरूको उल्लेख गर्दै उनले चीन नेपालका सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै साझा भविष्य निर्माण, विश्व शान्ति प्रवर्द्धन तथा मानव प्रगतिमा योगदान गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?