काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूलाई वैदेशिक भ्रमणमा रोक नलगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज (शुक्रबार) उक्त आदेश दिएको हो ।
यसअघि जेठ २६ गते विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्न लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा पदाधिकारीहरूको वैदेशिक भ्रमण रोक्न खेलकुद मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्राचार गरेपछि उनीहरूलाई विमानस्थलमा रोकिएको थियो ।
सरकारको उक्त कदमविरुद्ध अध्यक्ष नेम्वाङ र महासचिव राईले खेलकुद मन्त्रालय, राखेप, गृह सचिव र अध्यागमन विभागलाई विपक्षी बनाउँदै अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले राखेप र अन्य सरकारी निकायहरूले गरेका ती पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न र एन्फा पदाधिकारीहरूको अन्तर्राष्ट्रिय सहभागिता एवं वैदेशिक भ्रमणमा कुनै अवरोध सिर्जना नगर्न अन्तरिम आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया