काठमाडौं । विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको संकट थप गहिरिँदै गएको देखिएको छ ।
निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि तत्कालीन संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष असन्तुष्ट बन्दै आइरहेको छ ।
विभिन्न चरणमा दुई पक्षबिच सहमतिको प्रयास गरिएको भनिए पनि एकताको महाधिवेशन क्षीण बन्दै गइरहेको संस्थापन इतरका नेता मीन विश्वकर्माले जानकारी दिए ।
आज तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विश्वकर्माले सो कुरा बताएका हुन् ।
‘आज हामी जुन पोजिसनमा छौँ, त्यही पोजिसनले एकताको महाधिवेशनका सम्भावना क्षीण भएर गएका छन् कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले लोकतन्त्रमा केही आफ्ना प्रस्तावहरू हुन्छन्, केही विमतिहरू हुन्छन्, केही फेरि त्यसै विमतिभित्र सहमति पनि खोज्छौँ । यसले लोकतान्त्रिक प्रणालीले अलिकति समय पनि लिन्छ,’ उनले भने ।
विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवाद समाधानका लागि आफूहरु लागि परेको समेत उनको दाबी रहेको छ । तर अहिलेको संस्थापनले पार्टीभित्रका विवाद समाधान गर्न कुनै चासो नदेखाएको उनको तर्क छ ।
‘गत पुस महिनामा पुस मसान्तमा विशेष महाधिवेशन भयो, माघको पहिलो हप्तामा पार्टीमा अन्तरकलह सुरु भयो, फेरि हामीले ६ गते एकता गरेर चुनाव सँगसँगै लड्यौँँ । त्यसपछि वैशाख ६ गते जे फैसला आयो, त्यसलाई हामीले स्वीकारेर गयौँ । स्वीकारेर गइसकेपछि पनि अब पार्टीमा जे–जे कुराहरूमा विमति छ, त्यसभित्र सहमति खोजौँ भनेर नै धैर्य गरेर यो समयसम्म हामीले लिएका हौँ,’ उनले भने ।
आफूहरुले पार्टी एकताका लागि हरदम प्रयास गरिरहेको दाबी गर्दै उनले अर्को पक्ष अर्थात् संस्थापनले त्यसबारे कुनै चासो नदेखाएको उनको आरोपरहेको छ ।
‘एक पक्षबाट सबै गतिविधिहरू निरन्तर अगाडि बढिरहन्छन् र त्यसबाट अधिवेशन पनि गर्छ, भने एकता गर्न सम्भव अलि कमजोर हुँदै जान्छ, सम्भावना क्षीण हुँदै जान्छ र पार्टी पनि कमजोर हुँदै जान्छ,’ उनले भने ‘हामी समय लिन्छौँ, तर पार्टी एकताका लागि हरदम पहल गर्छौँ ।’
यसैबिच संस्थापन इतर समूहले राष्ट्रिय भेला गर्ने तयारी समेत गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया