कांग्रेस इतरपक्षले खोल्यो सम्पर्क कार्यालय

लोकपथ
868
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

इतरपक्षका नेता प्रकाशशरण महतका अनुसार नेताहरूबीच नियमित भेटघाट, छलफल र समन्वयका लागि कार्यालय खोलिएको हो ।

उनले भने, ‘अहिलेसम्म हामीसँग भेटघाट गर्ने आफ्नै ठाउँ थिएन । अब सबै मिलेर घर भाडामा लिएका छौँ । त्यहीँ बसेर छलफल र आवश्यक बैठक गर्नेछौँ ।’

महतका अनुसार अहिलेका लागि कार्यालय सञ्चालनको खर्च इतरपक्षका नेताहरूले मिलेर व्यहोर्ने सहमति भएको छ ।

उनले आफूहरूले अघि सारेका मागका विषयमा पार्टी नेतृत्वबाट अहिलेसम्म कुनै ठोस प्रतिक्रिया नआएको पनि बताए । ‘मुख्य रूपमा सभापति र उपसभापतिले यसबारे चासो देखाउनुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, ‘उनले भने ।

इतरपक्षले केही दिन थप प्रतीक्षा गर्ने र त्यसपछि आवश्यक निर्णय लिने तयारी गरेको छ ।

सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतरपक्षले अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने योजना बनाएको छ । यद्यपि, अहिले भने ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?