दार्चुलामा अनुमति बिनै भारतीय हेलिकप्टर प्रवेश, के भन्छ सरकार ?

लोकपथ
182
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भू-भागमा प्रवेश गरेको स्पष्ट पारेका छन् ।

बुधबार संघीय संसदको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा भएको उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित वा गलत मनसाय नदेखिएको बताए ।

उनले दार्चुला क्षेत्रको भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण हेलिकप्टर नेपाली भू-भागमा प्रवेश गर्न पुगेको उल्लेख गर्दै घटनाबारे नेपाली सम्बन्धित निकाय र भारतीय पक्षबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको जानकारी दिए ।

मन्त्री खनालले भारतसँगको व्यापारमा देखिएका विभिन्न समस्या समाधानका लागि सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको पनि बताए । उनले विशेषगरी नेपाली सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल जारी रहेको जानकारी गराए ।

यस्तै, नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या समाधान भइसकेको दाबी गर्दै उनले परराष्ट्र मन्त्रालय, भारतस्थित नेपाली राजदूतावास तथा भारतका विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा निकाय र भारतीय चिया बोर्डसँग निरन्तर संवाद भइरहेको बताए ।

उनका अनुसार गत जेठमा भएको आफ्नो भारत भ्रमणका क्रममा पनि उच्चस्तरीय तहमा यस विषयमा छलफल भएको थियो । त्यसपछि भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेसँगै नेपाली चियाको भारत निर्यात सहज बनेको उनले जानकारी दिए ।

मन्त्री खनालले नेपाल भारत व्यापारमा देखिने अवरोध हटाउन सरकारले कूटनीतिक माध्यमबाट निरन्तर पहल गरिरहेको र आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?