लाइसेन्स लिनदेखि रिन्यू गर्नसम्म बागमती प्रदेशले बढायो शुल्क, पहिले भन्दा दोब्बर तिर्नुपर्ने

लोकपथ
3.3k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन वा नवीकरण (रिन्यू) को खर्च बढाएको छ ।

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ लाइसेन्स लिने र रिन्यू गर्ने सेवाग्राहीका लागि आर्थिक भार दोब्बरले बढ्ने भएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत् लाइसेन्स नवीकरण र वर्ग थप शुल्कमा समेत वृद्धि गरेको हो ।

शुल्क वृद्धि हुँदा कुनको खर्च कति ?

बागमती प्रदेश सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार यसअघि लाइसेन्सको आवेदन दिँदादेखि लाइसेन्स लिँदासम्मको शुल्क बढाएको पाइएको छ । जसअनुसार यसअघि ५ रुपैयाँ मात्रै रहेको लाइसेन्सको आवेदन शुल्क बढाएर १ हजार रुपैयाँ पुर्‍याइएको छ ।

‘ए वर्ग’ मा पर्ने मोटरसाइकल र स्कुटरको लाइसेन्स र नवीकरण शुल्क समेत दोब्बर बनाउँदै ३ हजार रुपैयाँ पुर्‍याइएको छ । यसअघि ‘ए वर्ग’ को लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सय रुपैयाँ मात्र रहेको थियो ।

‘बी वर्ग’ मा पर्ने कार जिप, भ्यान र सी वर्गमा पर्ने टेम्पो, डी वर्गमा पर्ने पावर ट्रिलर तर्फ २ हजार रहेको शुल्क वृद्धि गरी ४ हजार पुर्‍याइएको छ । त्यस्तै ई वर्गमा पर्ने ट्याक्टर र एफ वर्गमा पर्ने मिनी बस र मिनी ट्रकको लाइसेन्स र नवीकरण शुल्क क्रमशः २ हजारबाट ४ हजार र २५ सयबाट ५ हजार पुर्‍याइएको छ ।

यस्तै जी, आई र जे वर्गमा पर्ने ट्रक, बस, लहरी, रोड रोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेट, ग्रेडर लगायत सवारीको हकमा ३ हजारबाट शुल्क बढाएर ६ हजार पुर्‍याइएको छ ।

बागमती सरकारले आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरुका लागि समेत शुल्क बढाएको छ । ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा एक हजारबाट बढाएर दुई हजार पुर्‍याइएको हो ।

लाइसेन्स आवेदन शुल्क, नवीकरण शुल्कदेखि अन्य शुल्क बढाइए पनि लाइसेन्सको वैधता अवधि भने १० वर्ष नै राखिएको छ ।

सरकारले ल्याएको नयाँ नीति आगामी आर्थिक वर्षको सुरुवात अर्थात् साउन १ गतेबाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?