सरकारप्रति दृष्टिविहिनहरुको आक्रोश : ‘सरकार आफैँ दृष्टिविहीन भयो’

लोकपथ
0
Shares

काठमाडौं । दृष्टिविहीन व्यवसायीहरू आफ्ना माग सम्बोधनको माग गर्दै विगत नौ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगार गर्दै आएका उनीहरूले सरकारले व्यवसाय गर्नसमेत अवरोध गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरूले सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारी उपलब्ध गराउनुपर्ने तथा त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार, सडक संगीतलगायतका पेशा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । साथै सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्न पनि उनीहरूको माग छ ।

धर्नामा सहभागी दृष्टिविहीन विष्णु उपाध्यायले आधारभूत अधिकार सुनिश्चित गराउनसमेत सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए । उनले दृष्टिविहीन नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु सरकारको दायित्व भए पनि सरकारले स्वरोजगार गरिरहेकाहरूलाई समेत दुःख दिएको गुनासो गरे ।

उनले हाल सरकारले उपलब्ध गराउँदै आएको मासिक दुई हजार १२८ रुपैयाँ सामाजिक सुरक्षा भत्ताले जीवनयापन असम्भव भएको उल्लेख गर्दै बढ्दो महँगीका कारण कम्तीमा २० देखि ३० हजार रुपैयाँ बराबरको सामाजिक सुरक्षा आवश्यक रहेको बताए ।

आन्दोलन समितिका सहसंयोजक पूर्णबहादुर रोकाले सरकार आन्दोलनबारे जानकार हुँदाहुँदै पनि बेवास्ता गरिरहेको आरोप लगाए । आन्दोलन हालसम्म शान्तिपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारले समयमै संवाद र पहल नगरे अझ ठूलो संख्यामा दृष्टिविहीनहरू आन्दोलनमा उत्रिने चेतावनी दिए ।

उनले सरकारले वार्ताका लागि बोलाएर माग र मुद्दा सम्बोधन गर्ने आधार बनाए आन्दोलनकारी वार्तामा सहभागी हुन तयार रहेको बताए ।

धर्नामा सहभागी दिलबहादुर बुढाले जीविकोपार्जनका लागि अगरबत्ती बिक्री गर्दै आएको बताउँदै सडकमा व्यापार गर्नु रहर नभई बाध्यता भएको बताए । उनका अनुसार धेरै दृष्टिविहीनहरू उच्च शिक्षा हासिल गरेका, डिग्रीधारी तथा विभिन्न सीप भएका भए पनि रोजगारी नपाउँदा सडकमा सामान बेच्न बाध्य छन् ।

उनले नगर प्रहरी र सुरक्षाकर्मीहरूले विशेषगरी दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूमाथि मात्रै कडाइ गर्ने गरेको गुनासो गर्दै सरकारले उनीहरूको समस्या समाधानमा प्रभावकारी पहल गर्न नसकेको आरोप लगाए । सरकारमा रहेका व्यक्तिहरूले केही समय आँखामा पट्टी बाँधेर दृष्टिविहीनहरूको पीडा अनुभूति गर्नुपर्ने उनको आग्रह थियो ।

माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरूको चेतावनी छ। धर्नामा दैनिक ४० देखि ५० जना दृष्टिविहीन सहभागी हुँदै आएका छन् भने आन्दोलनमा मुख्यतः काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने दृष्टिविहीन व्यवसायीहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?