समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अंगबीच समन्वय आवश्यक : सभामुख अर्याल

लोकपथ
0
Shares

काठमाडौं । ६८औँ संसद दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता र समान गति आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणालाई कमजोर हुन नदिनुपर्नेमा जोड दिए । उनले विकास र सुशासनका काम प्रक्रियागत जटिलतामा अल्झिन नहुने उल्लेख गर्दै परिणाममुखी शासन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताए ।

सभामुख अर्यालले नागरिक समाज र सरोकारवालाहरूलाई सरकारलाई निरन्तर खबरदारी गर्न आग्रह गर्दै जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणका सवालमा सक्रिय भूमिका खेल्न आह्वान गरे । उनले नेपाल बस्नलायक मुलुक बनेको अनुभूति दिलाउन सकिए मात्रै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किन प्रेरित हुने वातावरण बन्ने धारणा राखे ।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काउने आधार तयार गर्न सबै पक्षको साझा प्रयास आवश्यक छ । साथै, अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री क्षमतालाई संयोजन गरेर मात्र देशलाई तीव्र विकासतर्फ अघि बढाउन सकिने उनले बताए ।

सभामुख अर्यालले मर्यादाका बहसका कारण विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय ओझेलमा पर्न नहुने चेतावनी दिँदै राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?