शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : भीष्मराज आङदेम्बे

लोकपथ
35
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।

६८ औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संकटमा पार्न नहुनेमा जोड दिए ।

आङदेम्बेले सात प्रदेश र तीन तहको सरकारसहितको संघीय संरचना नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई आवेग, लहर वा उत्तेजनाका आधारमा कमजोर बनाउन नहुने बताए ।

उनका अनुसार शासकीय संरचनामाथि उठिरहेका प्रश्नहरू नेतृत्वको आफ्नै कमजोरी, अकर्मण्यता र अपरिपक्व सोचका कारण देखा परिरहेका हुन् ।

‘हामी आफ्नै कमजोरीको दोष शासकीय संरचनामाथि थोपर्न थालेका छौँ, ‘उनले भने, ‘यसलाई राम्रोसँग नबुझी र अभ्यास नै नगरी प्रश्न उठाउनु उचित हुँदैन ।’

उनले संसद दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी राष्ट्र र जनताप्रति प्रतिबद्धता जनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?