काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटन भइसकेको दाबी गर्दै त्यसको पुनर्गठनका लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमलिएको, राजनीतिक रूपमा गञ्जागोलमा परेको र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भएको टिप्पणी गरे ।
उनले अहिले कम्युनिष्ट आन्दोलनभन्दा त्यसमा आबद्ध नेता, कार्यकर्ता र समर्थक मात्रै बाँकी रहेको उल्लेख गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे । यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ थियो ।
शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताए ।
जनमतमा आएको गिरावटले पनि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको उनको भनाइ थियो ।
उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दिन वैचारिक स्पष्टता, राजनीतिक दिशा र सुदृढ संगठन निर्माणसहित नयाँ अभियान अघि बढाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया