काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक र नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट टाढा रही पुँजीबजारको नियमन प्रभावकारी बनाउन आग्रह गरे । उनले लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको र वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजान निर्देशन दिँदै सुधारका योजनालाई समयसीमासहित अघि बढाउन आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले धेरै बोलेर होइन, कामको परिणामबाट विश्वास जित्नुपर्ने भन्दै बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउने गरी नियामक निकायको भूमिका निर्वाह गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।
उनले मन्त्रालयबाट बोर्डको काममा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै बजारको अवस्थाबारे प्रत्येक हप्ता आफूलाई जानकारी गराउन पनि आग्रह गरे ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको मार्गदर्शनअनुसार पुँजीबजारको विकास र सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुँजीबजार सुधारका लागि विगतमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, विश्वसनीय र लगानीमैत्री बनाउन निरन्तर प्रयास गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया