काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा गराउन सरकारले तत्काल कूटनीतिक, कानुनी र प्रशासनिक पहल थाल्नुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले एन्फामाथिको निलम्बनका कारण नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य प्रभावित हुने भएकाले सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी निलम्बन फिर्ता गराउन आवश्यक कदम चाल्नुपर्ने बताए ।
उनले खेल क्षेत्रमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप अन्त्य गर्दै फिफाको विधानअनुसार एन्फाले स्वतन्त्र रूपमा आफ्नो विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे ।
सांसद राईले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले औँल्याएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विवाद यथाशीघ्र समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले खेलकुद ऐन र फिफाका नियमबीच देखिएको कानुनी अस्पष्टता हटाउन आवश्यक कानुनी सुधार गर्नुपर्नेमा पनि जोड दिए। साथै अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा समस्या निम्त्याउने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप अन्त्य गर्दै खेलकुदको स्वायत्तता कायम गर्न सरकारलाई सचेत गराए ।
सांसद राईले नेपाली फुटबलको भविष्य सुरक्षित गर्न र एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन सरकार गम्भीर भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया