आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया तीव्र, अन्तर्वार्ता र प्रस्तुतीकरण जारी

लोकपथ
0
Shares

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण प्रक्रिया सुरु भएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ ।

उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, संस्थागत सुदृढीकरण तथा सक्षम र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

समितिका अनुसार छनोट प्रक्रियामा पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता र संस्थागत विश्वसनीयतालाई प्राथमिकता दिइएको छ । प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञहरू तथा समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। साथै, प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको पनि जनाइएको छ ।

यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भइसकेको छ ।

कार्यतालिका अनुसार सोमबार पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाइएको छ ।

यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया निर्धारित समयभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । यसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?