काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको राजनीतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने उद्घोष गरे ।
शुक्रबार राति चितवनको भरतपुरमा आयोजित महाधिवेशनको समापन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै रविले सो उद्घोष गरेका हुन् ।
लामिछानेले रास्वपा अब केवल एउटा वैकल्पिक शक्ति मात्र नभई देशको शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा स्थापित भएको बताए ।
लामिछानेले नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र अग्रज राजनीतिज्ञहरूको योगदानलाई स्मरण गर्दै वर्तमान उपलब्धि उनीहरूकै संघर्षको प्रतिफल भएको स्वीकार गरे ।
उनले व्यवस्था परिवर्तनको चरण सकिएकाले अब प्राप्त उपलब्धिहरूको जगमा उभिएर जनताको अवस्था परिवर्तन गर्ने चुनौतीलाई सामना गर्न तयार हुनुपर्नेमा जोड दिए ।
संगठन निर्माणका चुनौती र परिपक्वताको मार्ग
पार्टी स्थापनाको छोटो अवधिमा कैयौँ राजनीतिक उतारचढाव झेल्नुपरेका कारण संगठन निर्माणका कतिपय कामहरू अधुरै रहेको उनले स्वीकार गरे । विगत चार वर्षमा नियमित बैठक बस्न, आन्तरिक प्रशिक्षण सञ्चालन गर्न र सदस्यता विस्तारमा सोचेजस्तो समय दिन नसकिएको भएपनि महाधिवेशनपछि ती कमीकमजोरीहरूलाई सच्याइने उनको प्रतिवद्धता थियो ।
‘हामीलाई समय दिइएन, अनेक राजनीतिक घटनाक्रमहरू भए । तर अब यो ऐतिहासिक महाधिवेशनबाट वैधानिकता प्राप्त गरेपछि रास्वपा देशकै सबैभन्दा ठूलो र जिम्मेवार शक्ति भएर अगाडि बढ्नेछ,’ उनले भने ।
आन्तरिक लोकतन्त्र र निर्वाचनको सन्देश
पार्टीको आन्तरिक निर्वाचनका क्रममा देखिएको उत्साहलाई उनले लोकतन्त्रको सुन्दर कडीका रूपमा चित्रण गरे ।
पदाधिकारी चयनमा सर्वसम्मति खोज्ने प्रयास भएपनि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन हुनुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको उनको तर्क थियो ।
निर्वाचनमा हार र जित क्षणिक भएको उल्लेख गर्दै उनले भने, ‘यहाँ कसले हार्यो र ? जित्ने पनि घण्टीवाहक हो, नतिजा आफ्नो पक्षमा नपार्ने पनि नीलो योद्धा नै हो । समग्रमा रास्वपाले जितेको छ ।’

निर्वाचनका क्रममा भएका प्रतिष्पर्धा र सानातिना मनमुटावलाई यहीँ विसर्जन गरेर एक ढिक्का भएर अगाडि बढ्न उनले सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गरे ।
विचार र सिद्धान्तहीनताको आरोपको खण्डन
रास्वपामाथि लाग्दै आएको ‘विचारविहीन र सिद्धान्तहीन’ दलको आरोपलाई यो महाधिवेशनले पूर्ण रूपमा खारेज गरिदिएको सभापति लामिछानेले दाबी गरे । पार्टीका दस्तावेज, नीति र आदर्शहरू पहिले नै स्पष्ट भएपनि विपक्षीहरूले प्रतिशोधका कारण ती डकुमेण्टहरू नपढेको उनको आरोप थियो ।
‘यो ऐतिहासिक महाधिवेशनले हाम्रा राजनीतिक र वैचारिक धरातललाई स्पष्ट पारेको छ । अब कसैले पनि हामीलाई विचारविहीन भन्ने हिम्मत गर्ने छैनन्,’ उनले भने ।
परिपक्वता र जिम्मेवार राजनीतिक आचरण
आफ्नो दल र स्वयं आफूमाथि लाग्ने गरेको ’अपरिपक्वता’ को आरोपबारे बोल्दै लामिछानेले परिस्थितिले अब आफूहरूलाई अपरिपक्व हुने छुट नदिएको बताए ।
संसदीय अभ्यास र सार्वजनिक अभिव्यक्तिहरूमा अझ बढी गम्भीरता र परिपक्वता देखाउनुपर्ने आवश्यकता उहाँले औंल्याए ।
‘हाम्रो नियत र राष्ट्रभक्तिमा शंका नगर्नुहोस्, तर हाम्रा व्यवहारमा परिपक्वताको कमी महशुस भएको छ भने हामी सुध्रिन तयार छौँ,’ उनले भने ।
लोकप्रियताको आडमा लोकतन्त्रका आधारभूत सिद्धान्त र शक्ति पृथकीकरणको मर्मलाई आँच पुग्न नदिने उनको दृढ सङ्कल्प थियो ।
‘जान्नेलाई छान्ने’ बाट ‘जान्ने बनाई छान्ने’ सम्म
पार्टीको चर्चित नारा ‘जान्नेलाई छान्ने’ को सन्दर्भ उल्लेख गर्दै लामिछानेले समयसापेक्ष यसको व्याख्या गरे । निर्वाचनको समयमा संगठन नभएका कारण ‘जान्नेलाई’ खोजेर उम्मेदवार बनाउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै उहाँले अब पार्टीले आफ्ना कार्यकर्ताहरूलाई ‘जान्ने बनाई छान्ने’ र काम नगर्नेहरूलाई विधिबाट बिदा गर्ने नीति लिने प्रस्ट पारे । उनले हिजो उम्मेदवार खोज्नुपर्ने अवस्थाबाट आज उम्मेदवार व्यवस्थापन गर्नुपर्ने अवस्थामा आइपुग्नु पार्टीको सफलता भएको बताए ।
संस्थागत मर्यादा र रेड लाइनको पालना
लोकतन्त्रका संस्थाहरूलाई भत्किन नदिने र शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहने प्रतिवद्धता व्यक्त गर्दै उनले कुनै पनि तहका नेता वा सांसदले ‘रेड लाइन’ क्रस गर्न नपाउने चेतावनी दिए ।
‘हामीले मतको बलमा हिजोका शासकहरूले जस्तो गलत अभ्यास गर्यौँ भने यसले सिंगो पुस्ता र देशलाई क्षति पुग्नेछ,’ सचेत गराउँदै उनले भने ।
सञ्चार जगत र अन्तर्राष्ट्रिय सम्बन्ध
पछिल्लो समय सञ्चार माध्यमबाट टाढिएको भन्ने जिज्ञासाको उत्तर दिँदै लामिछानेले कार्यव्यस्तताका कारण अन्तर्वार्ताहरूमा समय दिन नसकेको तर सञ्चारकर्मीका प्रश्नहरूबाट कहिल्यै नभागेको स्पष्ट पारे । साथै उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकास कूटनीति र वैदेशिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन रास्वपा प्रतिवद्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिए ।
कार्यकर्ताको त्याग र आर्थिक पारदर्शिता
महाधिवेशनका क्रममा कार्यकर्ताहरूले व्यहोर्नुपरेको आर्थिक र भौतिक कष्टप्रति उनले सहानुभूति प्रकट गरे । तीन दिनका लागि आएका प्रतिनिधिहरू साताभर बस्नुपर्दा परेको आर्थिक भारलाई सम्बोधन गर्न पार्टीको फण्ड कार्यकर्ताहरूकै हितमा खर्च गरिने उनले घोषणा गरे ।
‘पार्टीको फण्ड तपाईँहरूले नै बनाउनुभएको हो, तपाईंहरूलाई दुःख पर्दा यो जोगाएर राख्नुपर्ने जरुरी छैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया