‘काठमाडौंमा सरकार छैन, बरु चितवनमै राजधानी सारौँ’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गरे ।

यही असार ७ गतेदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी छ ।

उनले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताए । उनले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट बञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माईतीघर पुगेको बताए । उनले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाए ।

उनले भने, ‘अघिल्लो एकहप्तादेखि काठमाडौं यस्तो लाग्न थाल्यो कि काठमाडौंमा सरकार छैन । काठमाडौं देशको राजधानी हो । तर देशको राजधानी काठमाडौंबाट सरेर चितवन गएको जस्तो देखियो । सरकारका कोही पनि प्रतिनिधि काठमाडौंमा नभेटएिको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कयौँ कामकारबाहीहरुमा परेको देखियो । सरकार चितवनतिर आफ्नो काम कारबाहीमा व्यस्त रहँदा म भने सरकारका कामकारबाहीमा चित्त नबुझाएर, आफ्नो अधिकार नपाएर अन्यायमा परेका केही नागरिकलाई भेट्न माइतिघर पुगेको थिएँ । सम्माननीय अध्यक्ष महोदय माइतिघरमा कक्षा १२ को नतिजा प्रकाशनका बखत अन्यायमा परेका विद्यार्थी आन्दोलनमा बसेका छन् । मलाई अचम्म लागेको छ, यो सरकारका मन्त्रीहरु जेनजी मूभमेन्ट हुँदा आन्दोलनको कुन फ्रन्टमा थिएँ ।’

अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?