लागुऔषध नियन्त्रणसम्बन्धी कानुनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ : आईजी पौडेल

लोकपथ
105
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले लागु औषध नियन्त्रणसम्बन्धी ऐन तथा कानुनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट रूपमा समेट्न आवश्यक रहेको बताएका छन् ।

लागु औषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बनाउन विद्यमान कानुनी व्यवस्थामा स्पष्टता आवश्यक रहेको बताए ।

उनले लागु औषध दुर्व्यसन नियन्त्रण र रोकथामका लागि परिचालित निकायलाई आधुनिक स्रोत–साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

साथै, विद्यालयका सबै तहका पाठ्यक्रममा लागु औषध दुर्व्यसन र त्यसका असरबारे अनिवार्य अध्ययन समावेश गर्नुपर्ने तथा समाजका सबै तहमा जनचेतना र जागरण फैलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

महानिरीक्षक पौडेलले संघ, प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रममा लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै देशभरका प्रत्येक वडाले टोल स्तरसम्म जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सीमा सुरक्षासँगै लागु औषध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन कानुनी, संस्थागत तथा प्राविधिक सुदृढीकरण अपरिहार्य रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?