प्रहरीलाई गृहमन्त्रीको निर्देशन : ‘लागू औषधको जरासम्म पुगेर नियन्त्रण गरौँ’

लोकपथ
28
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रमभन्दा अघि बढेर यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्ने गरी आक्रामक नीति अवलम्बन गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६) का अवसरमा जारी सन्देशमा गृहमन्त्री गुरुङले लागू औषधको समस्यालाई जरैदेखि अन्त्य गर्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएका हुन् ।

उनले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागू औषधको लतबाट युवापुस्तालाई जोगाउन यसको आपूर्ति सञ्जाल भत्काउनु आवश्यक रहेको उल्लेख गर्दै प्रहरीलाई ओसारपसारको स्रोतसम्म पुगेर नियन्त्रणका काम प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

सन्देशमा लागू औषध ओसारपसार सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक गतिविधि र जनस्वास्थ्यमा गम्भीर असर पार्ने सीमा वारपार हुने सङ्गठित अपराधका रूपमा उल्लेख गरिएको छ । विभिन्न अध्ययन प्रतिवेदनले लागू औषध ओसारपसारको दर बढ्दो क्रममा रहेको देखाएको भन्दै मन्त्रालयले यसलाई गम्भीर चुनौतीका रूपमा लिएको जनाएको छ ।

गृह मन्त्रालयले लागू औषध नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह तथा नागरिक समाजलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

साथै, युवालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन सञ्चार माध्यमको भूमिका पनि महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?