कक्षा १२ को नतिजामा असन्तुष्ट विद्यार्थीको आन्दोलनबारे के भन्छन् शिक्षामन्त्री ?

लोकपथ
322
Shares

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरुको आन्दोलनप्रति शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिक्रिया जनाएका छन् ।

बिहीबार विद्यार्थीहरुले कक्षा १२ को नतिजाले अन्याय गरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले रि–टोटलिङ भन्दा पनि कपी रि–चेकिङ गर्नुपर्ने माग अघि सारेका छन् ।

तर त्यसरी आन्दोलन गर्ने विद्यार्थीहरुमाथि भद्दा टिकाटिप्पणी गरिएको भन्दै शिक्षा मन्त्री पोखरेलले आपत्ति जनाएका छन् ।
साथै उनले आफूहरुले पूर्ण तयारीका साथ छिट्टै नतिजा दिन सफल भएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले भनेका छन् :

राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो । तथापि, यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ । यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?