चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा झन्डै एक तिहाइ प्रतिनिधि अनुपस्थित भएका छन् ।
कूल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा भाग लिएका छन् भने १ हजार ३५२ जना मतदानमा अनुपस्थित रहेका छन् ।
रास्वपाले ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराएको थियो । केन्द्रीय सदस्यका ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनको अवधि लम्बिँदै गएपछि केही प्रतिनिधि घर फर्किएका कारण मतदानमा सहभागी हुनेको संख्या घटेको नेताहरूले बताएका छन् ।
अब केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुनेछ । रास्वपाको विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिन केन्द्रीय सदस्यमा निर्वाचित वा मनोनीत भएको हुनुपर्ने व्यवस्था छ ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । अब दुई खुला उपसभापति, एक महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए ।
असार ७ गते उद्घाटन भएको महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्रक्रिया लम्बिँदा पाँचौं दिनसम्म पनि जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया