काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टी जनाएका छन् ।
बिहिबार विधार्थीले परीक्षाफलको विश्वसनीयप्रति प्रश्न उठाउँदै माइतीघरमा धर्नामा दिएका हुन् ।
आफूहरूले परीक्षा राम्रो दिएपनि अपेक्षा गरेकोभन्दा निकै कम ग्रेड प्राप्त गरेको उनीहरुको गुनासो छ । उनीहरुले उत्तरपुस्तिका फेरि परीक्षण गर्नुपर्ने माग राखेका छन् । विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अंक नआएको बताइन् ।
परीक्षाफल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरिएको उनको आरोप छ । उनले कुन मापदण्डको आधारमा एक महिनामै नतिजा सार्वजनिक गरिएको हो ? भन्ने प्रश्न पनि उठाइन । उनले पुनः उत्तरपुस्तिका परीक्षण गर्दा निःशुल्क हुनुपर्ने उनको भनाइ छ । विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि शुल्क लिनु अन्याय हुने उनको भनाई छ ।
उनले भनिन्,‘हाम्रो कापी एकपटक पुन परीक्षण गर्नुपर्छ । अहिले हामीले परीक्षामा लेखेअनुसारको अंक आएको छैन । राम्रो परिक्षाफल ल्याउने विद्यार्थीहरु पनि अहिले कम ग्रेड पाउनुभएको छ । यो विद्यार्थीको भविष्यमाथीको खेलवाड हो । एक महिनामा नै रिजल्ट निकाल्ने नाममा हेलच्याक्र्याँई गरेर विद्यार्थीको भविष्यमाथी किन खेलवाड गरेको ? रिजल्ट छिट्टै निकालिएको छ, त्यो कुन मापदण्डबाट निकालिएको हो, हामीलाई जानकारी दिनुपर्छ । कापी पुन परीक्षण गर्दा निःशुल्क गर्नुपर्छ ।’
विद्यार्थी स्मृति खतिवडाले पनि परीक्षाफलप्रति व्यापक असन्तुष्टि रहेको बताइन् ।
उत्तिर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उनको भनाई छ । उनले केवल नतिजाको पुनः योगले मात्रै समस्या समाधान नहुने बताउँदै उत्तरपुस्तिकाको पुनः जाँच गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘अधिकांश उत्तिर्ण भएका विद्यार्थीले पनि रिजल्टप्रति असन्तुष्टी देखाएका छन् । उनीहरुले आफूले लेखेजस्तो अंक पाएका छैनन्, यो किन यस्तो भयो सरकारले हामीलाई जवाफ दिनुपर्छ । रिटोटलिङ गरेर मात्रै हुँदैन, हाम्रो उत्तरपुस्तिका रि–चेकिङ नै गर्नुपर्छ । तब मात्र वास्तविकता बाहिर आउँछ ।’
विद्यार्थीले त्रुटीपूर्ण परिक्षाफल सार्वजानिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् ।
विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डले गर्ने गल्तीमा पनि विद्यार्थीलाई दोषी देखाएर शुल्क असुल गर्ने गरेको आरोप लगाएका छन् । विद्यार्थीलाई अन्याय गर्ने, फेरि आर्थिक भार पनि थप्ने काम बन्द हुनुपर्ने उनीहरुको माग छ । त्रुटीपूर्ण परीक्षाफल सार्वजानिक गरेको कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको उनीहरुको भनाई छ । आन्दोलनमा सहभागीहरुले १२ वर्षको मेहनत खेर ? यसको जिम्मेवार को ? जवाफ दे ! हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाउँ ? अनफेयर रिजल्ट, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया