नेपाली फुटबललाई ठूलो झट्का, फिफाले गर्‍यो एन्फा निलम्बन

लोकपथ
49
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो ।

फिफाले एन्फाको व्यवस्थापन तथा सञ्चालनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै यो कदम चालिएको जनाएको छ ।

निलम्बनसँगै एन्फाले फिफाको सदस्य संस्थाका रूपमा पाउँदै आएका सबै अधिकार गुमाएको छ । साथै, निलम्बन अवधि कायम रहँदासम्म नेपालका राष्ट्रिय फुटबल टोली, एन्फाका पदाधिकारी तथा नेपाली क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

फिफाले एन्फाले आफ्नो प्रशासनिक तथा संस्थागत अवस्था सुधार गरी फिफा विधानअनुसारका आवश्यक सर्तहरू पूरा गरेपछि मात्र निलम्बन फुकुवाबारे विचार गरिने जनाएको छ ।

फिफाको यस निर्णयले नेपाली फुटबलमा गम्भीर असर पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?