काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि पार्टीका नेता विपिन आचार्यले प्रतिनिधिहरूसँग माफी मागेका छन् ।
निवर्तमान सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार आचार्यले महाधिवेशनको व्यवस्थापन र निर्वाचन प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरूलाई अनावश्यक रूपमा चितवनमा बस्नुपरेको भन्दै दुःख व्यक्त गरेका हुन् ।
उनले सामान्य अवस्थामा यसअघि नै नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन भइसकेर प्रतिनिधिहरू घर फर्किसक्नुपर्ने बताए । तर पार्टीको कमजोरीका कारण प्रतिनिधिहरू अझै चितवनमै रहनुपरेको भन्दै नेतृत्वको तर्फबाट क्षमा मागेका छन् ।
आचार्यले असार महिनाको खेतीपातीको व्यस्त समयमा प्रतिनिधिहरूको समय र पैसा दुवै खर्च भएको भन्दै आफूहरू लज्जित भएको बताए। उनले प्रतिनिधिहरूले देखाएको धैर्य र सहनशीलताको प्रशंसा पनि गरे ।
उनले अब केही घण्टामै सुरु हुने मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै चितवन नछाड्न अनुरोध गरेका छन् । साथै, पार्टीले यस घटनाबाट पाठ सिकेर भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महाधिवेशनमा लगातार ढिलाइ भएपछि केही प्रतिनिधिले चितवन छाड्ने तयारी गरिरहेको जानकारी पार्टीलाई दिएपछि आचार्यले सार्वजनिक रूपमा माफी माग्दै यस्तो अपिल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया