पौडेलको रिहाइ माग्दै एमालेको चेतावनी : ‘पूर्वाग्रही गतिविधि तत्काल रोकियोस्’

लोकपथ
63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले पार्टीप्रति पूर्वाग्रही र लक्षित ढंगले गतिविधि गरिरहेको निष्कर्ष निकालेको छ ।

पार्टीले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेल को गिरफ्तारीलाई गैरकानूनी, प्रतिशोधमूलक र पूर्वाग्रही कदम भएको दाबी गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ ।

मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकपछि एमालेले सो निष्कर्ष सार्वजनिक गरेको हो ।

बैठकबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारका गतिविधिहरू एमाले केन्द्रित भएर पूर्वाग्रही रूपमा अघि बढाइएको आरोप लगाए ।

एमालेका अनुसार सुर्खेतमा एक कार्यक्रममा सहभागी भएका उपाध्यक्ष पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । पार्टीले जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र उक्त विषय नपर्ने दाबी पनि गरेको छ ।

पार्टीका अनुसार अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै हिरासतमा राख्ने आदेश दिएको भए पनि उक्त निर्णय अपेक्षित र न्यायोचित नभएको एमालेको निष्कर्ष छ ।

एमालेले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई यस्ता गतिविधि तत्काल रोक्न र पौडेललाई बिना शर्त रिहा गर्न माग गरेको छ । साथै, आवश्यक परेमा कानुनी लडाइँका अतिरिक्त थप राजनीतिक कदमबारे समयानुकूल निर्णय लिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?