चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम कहिलेदेखि सुरु हुने भन्ने अझै टुंगो लागेको छैन । उम्मेदवारी दर्ता प्रक्रिया भने बुधबार राति २ बजेसम्म सञ्चालन भएको थियो ।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको विवरण जाँच गर्ने काम अझै बाँकी छ । प्रस्तावक र समर्थक दोहोरिएका छन् वा छैनन् तथा अन्य विवरण सही छन् कि छैनन् भन्ने रुजु गर्न समय लाग्ने भएको समितिले जनाएको छ ।
निर्वाचनमा विद्युतीय मतदान (इलेक्ट्रोनिक भोटिङ) प्रणाली प्रयोग गरिने भएकाले उम्मेदवारहरूको नाम र फोटो भोटिङ मेसिनमा समावेश गर्नुपर्नेछ । उम्मेदवारको संख्या र मतदान समूह (क्लस्टर) का आधारमा मेसिन तयारी गर्न कति समय लाग्ने भन्ने अझै निश्चित नभएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली तयार गरी सार्वजनिक गर्न कम्तीमा बिहान १० बज्न सक्नेछ । त्यसपछि दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशित गर्दा छिटोमा दिउँसो १२ बज्न सक्ने अनुमान गरिएको छ ।
अन्तिम नामावली भोटिङ मेसिनमा समावेश गरेपछि मेसिन तयारीका लागि लाग्ने समयको मूल्याङ्कन गरेर मतदान सुरु गर्ने समय निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया