एमाले फुट्ने छैन, पुनर्गठन हुनेछ : योगेश भट्टराई

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र फरक विचारप्रति बैरभाव राख्नु एमालेको मौलिक संस्कारविपरीत हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेभित्र जारी वैचारिक बहसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गरेका हुन् ।

उनका अनुसार हाल पार्टीभित्र दुई वैचारिक धारबीच छलफल भइरहेको छ, जुन पार्टी कमिटीदेखि सार्वजनिक सञ्चारमाध्यमसम्म विस्तार भएको छ ।

भट्टराईले फरक विचारलाई अस्वीकार गर्नुको सट्टा संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले एमालेको ऐतिहासिक परम्परामा पनि बहस र सहकार्यको संस्कृति रहेको उल्लेख गर्दै मनमोहन अधिकारी र सीपी मैनाली सँग मदन भण्डारी ले गरेको सहकार्यलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

उनका अनुसार वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वगत पुनर्गठनमार्फत एमाले पुनर्जागरणतर्फ अघि बढ्नेछ । उनले पुनर्गठित एमाले सबै विचारलाई सम्मान गर्ने र निषेधको राजनीति अन्त्य गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

भट्टराईले अन्त्यमा एमाले सामूहिक र संस्थागत ढाँचामा चल्ने पार्टी हुने उल्लेख गर्दै आफूहरू मदन भण्डारीको विचारधारात्मक विरासतका उत्तराधिकारी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?