राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ मा काठमाडौंमा गर्ने

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।

आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई प्रदान गरिएको अध्यक्ष लिङदेनले बताए ।

बैठकले केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ ।

पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। सक्रिय सदस्यता वितरण अभियान पनि सोही अवधिसम्म सञ्चालन गरिनेछ । भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङदेनले जानकारी दिए ।

राप्रपाले आगामी असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । साथै, कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।

छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?