काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले सरकारका १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ ।
शनिबार (असार ६) सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।
संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ र संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको महामन्त्री प्रदीप पौडेलले बताए ।
महामन्त्री पौडेलले सरकारले गठनको १०० दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।
उनले संघीय सांसदलाई राष्ट्रिय महत्त्वका विषय र जनजीविकाका सरोकारलाई संसद्मा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल गरिएको बताए ।
प्रमुख प्रतिपक्ष दलको भूमिका कमजोर भएको भन्ने टिप्पणीको उनले खण्डन गरे । कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको उनले जिकिर गरे ।
उनले सरकारका गलत कार्यविरुद्ध संसदीय दलका नेता र सांसदहरूले सदनमा सक्रियताका साथ आवाज उठाइरहेका बताए । सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्यांकन जनताले गर्ने उनले उल्लेख गरे ।
‘संसदीय दललाई कसरी प्रभावकारी बनाउने र पार्टीसँगको समन्वयलाई कसरी सहज बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,’उनले भने, ‘जनताको आवाजलाई संसद्सम्म पुर्याउन पार्टीले संसदीय दललाई आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।’
आन्तरिक व्यवस्थापन र असन्तुष्टिका सन्दर्भमा महामन्त्री पौडेलले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएकाले यहाँ व्यक्ति व्यवस्थापनको चुनौती पुरानै रहेको स्वीकार गरे ।
उनले पार्टीमा कुनै नीतिगत विमति नरहेको स्पष्ट पार्दै व्यक्ति व्यवस्थापनका निम्ति स्पष्ट विधि आवश्यक रहेको बताए । सदस्यता वितरण र नवीकरणको काम पार्टीको नियमित प्रक्रिया भएको उनको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया