महाधिवेशनपछि पार्टी र सरकारको कामको गति बढ्छ : कविन्द्र बुर्लाकोटी

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीभित्र हुकुमी शैली नभएको र नेतृत्व चयनदेखि नीति निर्माणसम्म लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिइने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रास्वपाको महाधिवेशनको तयारी लगभग पूरा भइसकेको जानकारी दिए । देशभर वडा, पालिका, जिल्ला र प्रदेशस्तरीय अधिवेशन सम्पन्न भइसकेकाले पार्टी महाधिवेशनका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो ।

महाधिवेशनमा पार्टीको राजनीतिक दृष्टिकोण, कार्यनीति, विधान संशोधन, केन्द्रीय नेतृत्व चयन तथा विभिन्न प्रस्तावहरू पारित गरिने उनले बताए । उनले उद्घाटन समारोहमा अन्य राजनीतिक दलका नेताहरूलाई समेत आमन्त्रण गरिएको जानकारी दिए ।

रास्वपा आमनागरिकको बलमा स्थापित पार्टी भएकाले जनभावना र राष्ट्रिय हितअनुसार काम गर्न निरन्तर प्रतिबद्ध रहेको बुर्लाकोटीले बताए । महाधिवेशनपछि पार्टी र सरकार दुवैको काम गर्ने गति अझ तीव्र हुने विश्वास उनले व्यक्त गरे ।

नेतृत्व चयनका विषयमा उनले संवाद, सहमति र निर्वाचनलाई समान रूपमा महत्व दिइने उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक संस्कारलाई मजबुत बनाइने बताए । महाधिवेशनले राजनीतिक परिवर्तनसँगै सुशासन र विकास सम्भव छ भन्ने सन्देश दिने उनको भनाइ थियो ।

सरकार सञ्चालनबारे बोल्दै उनले सरकार जनअपेक्षा र स्वच्छ नियतअनुसार काम गरिरहेको दाबी गरे । संसद्लाई अझ प्रभावकारी, अध्ययनमुखी र नागरिकमैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा कानुन निर्माण र सुधारको कामलाई तीव्रता दिइने बताए ।

सरकारको करिब १०० दिनको कार्यकालको समीक्षा गर्दै बुर्लाकोटीले शासकीय सुधार तथा सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको र नागरिकका अपेक्षा पूरा गर्न सरकार तथा पार्टी दुवै प्रतिबद्ध रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?