चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटो छोएर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरेको छ । पहिलो चरणमा पार्टी सभापति एक जना तथा केन्द्रीय सदस्य ९९ जनाका लागि मतदान हुनेछ ।
केसीका अनुसार पहिलो चरणबाट निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ । मनोनयन प्रक्रिया असार ८ गते दिउँसो २ बजेबाट सुरु गरी सोही साँझ पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको उनले बताए । पहिलो चरणको मतदान असार ८ गते रातिसम्म सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते सञ्चालन हुनेछ ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । विदेशमा रहेका र उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइरहेको जनाएको छ । विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले एपमार्फत मतदान गर्नेछन् ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन् । आयोगका प्रमुख तथा सदस्यहरूले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ । प्रमुख केसीले आयोगले निष्पक्ष र तटस्थ रूपमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया