नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं ४ मा ‘गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ ।
ग्रामीण जागरण तथा पूर्वाधार विकास केन्द्रको आयोजनामा तथा तारकेश्वर गाउँपालिका वडा नं. ४ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपालका वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबिचको सहकार्य अपरिहार्य रहेको बताइ ।
उनले शिक्षा केवल परीक्षा र प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई असल नागरिक निर्माण गर्ने आधार भएकाले व्यवहारिक, जीवनोपयोगी तथा मूल्यमा आधारित शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ट वक्ता लाल प्रसाद अर्याल (PhD Scholar) ले शिक्षा, अनुशासन, सकारात्मक सोच, जीवन मूल्य तथा व्यक्तित्व विकासका विषयमा प्रेरणादायी विचार व्यक्त गर्दै बालबालिकाको समग्र विकासमा अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर गाउँपालिका वडा नं. ४ का अध्यक्ष हरि बहादुर पौडेलले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षक, अभिभावक र समुदायबीच सकारात्मक सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रामीण जागरण तथा पूर्वाधार विकास केन्द्रका अध्यक्ष समीप भट्टराई ले गरेका थिए । अध्यक्ष भट्टराईले गुणस्तरीय शिक्षा निर्माणमा सबै पक्षको साझा उत्तरदायित्व रहने उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, युवा तथा सामाजिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले यस्ता उत्प्रेरणामूलक कार्यक्रमले शिक्षाप्रति सकारात्मक सोच विकास गर्न तथा शिक्षक, अभिभावक र समुदायबिच सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया