डोटीको जोरायलमा पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस, नेपालभर विपद् बेसको संख्या १६ पुग्यो

लोकपथ
49
Shares

काठमाडौं । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । बेसको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले असार ४ गते उद्घाटन गरेका छन् । 

डोटीको सदरमुकाम सिलगढीबाट करिब १ सय ३५ किलोमिटर पश्चिम दक्षिणतर्फ स्थापना भएको सो बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको जनाइएको छ ।

योसँगै सशस्त्र प्रहरी बल नेपालमा विपद् व्यवस्थापन बेसको संख्या १६ वटा पुगेको छ । जसमध्ये कोशी प्रदेशमा २, मधेस प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, लुम्बिनीमा प्रदेश १, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले २०८३ साल वैशाख महिनामा सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डेबेसी, गोरखाको आरुघाट गोरखा, जुम्लाको बालडाँडा र कैलालीको डुडेझरीमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ । सशस्त्र प्रहरी बल नेपालले यसअघि धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट सिन्धुली, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ । 

स्थापना भएका बेसहरूमध्ये सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको गोताखोर तैनाथ छन् भने अन्य बेसमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?