काठमाडौं महानगरले घटायो बहाल कर , अस्पताल निर्माणदेखि छात्रवृत्ति मनोनयनसम्म नयाँ कार्यक्रम

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर घटाउने तथा करदातालाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आवासीय प्रयोजनका घरजग्गामा लाग्ने बहाल करमा हेरफेर गरिएको जानकारी दिएकी हुन् ।

नयाँ व्यवस्थाअनुसार वार्षिक दुई लाख ४० हजार रुपैयाँभन्दा कम बहाल आम्दानी हुने आवासीय घरजग्गामा पाँच प्रतिशत कर लाग्नेछ । सोभन्दा बढी आम्दानी हुने घरजग्गाको बहाल कर भने साविकको १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गरिएको छ ।

महानगरले करको दायरा विस्तार गर्न असोज मसान्तभित्र कर बुझाउने नयाँ करदातालाई १० प्रतिशत छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने घोषणा गरेको छ । करप्रति नागरिकको विश्वास बढाउन केही सिफारिस दस्तुर निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ महानगरले आगामी वर्षदेखि महानगर अस्पताल निर्माण सुरु गर्ने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो चरणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रममा एक करोड रुपैयाँ, क्यान्सरलगायत असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम तथा एकीकृत स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनाका लागि दुई करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

बजेटमा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने, स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा व्यवस्थापकीय तयारी गर्न ५० लाख रुपैयाँ विनियोजन गर्ने तथा पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ छुट्याउने उल्लेख गरिएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीका लागि अन्तिम मनोनयन ९र्यापअप० प्रक्रियामा सहभागी हुन पुनः अनलाइन आवेदन खुला गरेको छ ।

महानगरका शिक्षा अधिकारी नमराज ढकाल का अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयनमा सहभागी हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गरी अनलाइन आवेदन दिन सक्नेछन् ।

महानगरले यस वर्ष १४५ शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो। हालसम्म पहिलो र दोस्रो मनोनयन सूचीबाट तीन हजार २८१ विद्यार्थी भर्ना भइसकेका छन् भने बाँकी एक हजार ५७६ सिटका लागि पुनः आवेदन माग गरिएको हो ।

आवेदन प्रक्रिया बिहीबार बिहान १० बजेदेखि सुरु भइसकेको छ र असार ८ गते साँझ ५ बजेसम्म खुला रहनेछ । अन्तिम मनोनयन समग्र योग्यताक्रम का आधारमा विषयगत रूपमा गरिने महानगरले जनाएको छ ।

यसअघि जेठ १७ गते सम्पन्न छात्रवृत्ति छनोट परीक्षापछि प्रकाशित पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका थिए। दोस्रो सूचीमार्फत थप २३० विद्यार्थी भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?